नेपालगन्ज । तीन प्रदेशका सरोकारवालाबीच नेपालगन्जमा “दूर मानसिक स्वास्थ्य सेवा सञ्चालन कार्यविधि, २०८२” माथि छलफल सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ र राष्ट्रिय ई-स्वास्थ्य रणनीति, २०७४ सँग समन्वय गर्दै तयार पारेको यो कार्यविधिको मुख्य उद्देश्य दूरसञ्चार प्रविधिमार्फत मानसिक स्वास्थ्य सेवा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म पुर्याउनु हो।
कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरोकारवालाले भाग लिए। विज्ञ मानसिक रोग विशेषज्ञ डा। बिनिता ढुंगेलले कार्यविधिका प्रावधान, सेवा प्रवाहको ढाँचा र सम्भावित चुनौतीबारे विस्तृत प्रस्तुति दिए। उनले टेलि–मेन्टल सेवा दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गरे।
छलफलले नेपालमा मानसिक स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको देखाएको छ। तथ्याङ्क अनुसार दैनिक करिब २० जनाले आत्महत्या गर्ने गरेका छन् भने आर्थिक वर्ष २०८१र८२ मा ७ हजार ५ जनाले आत्महत्या गरेका थिए। विशेष गरी कैलाली, कञ्चनपुर र इलाम जिल्लामा दर उच्च रहेको पाइएको छ।
सरोकारवालाहरूले मानसिक स्वास्थ्य क्षेत्रमा बजेट न्यून (१.०८ प्रतिशत) रहेको र पर्याप्त दक्ष जनशक्ति, प्रविधि पूर्वाधार, गोपनीयता सुरक्षा र प्रदेश–स्थानीय तहबीच समन्वय आवश्यक रहेको औँल्याए। छलफलले टेलि–मेन्टल सेवा प्रभावकारी कार्यान्वयन भएमा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पुर्याउन सकिने विश्वास व्यक्त गरेको छ।