पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिकामा सञ्चालन गरिएको नसर्ने रोगको स्क्रिनिङ कार्यक्रममा १२ प्रतिशत मानिसमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्याका लक्षण फेला परेका छन्। ३० वर्षमाथिका ४४३ जनाको परीक्षण गर्दा यस्तो अवस्था देखिएको हो।
गाउँपालिकाका अनुसार धेरैजसो मानिसले लक्षण हुँदाहुँदै पनि स्वास्थ्य परीक्षण नगराउने प्रवृत्ति देखिएको छ। पहिचान भएका बिरामीलाई परामर्श तथा निःशुल्क औषधि उपलब्ध गराइएको छ।
समुदायमै पुगेर परीक्षण गर्ने अभियान, ‘सेटलाइट क्लिनिक’ र सचेतना कार्यक्रमलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ। सोही क्रममा ४ जनामा कालाजार र ६ जनामा क्षयरोगसमेत फेला परेको छ।
स्थानीय तहले खोजपड्ताल, उपचार र औषधि वितरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।