झापा । झापामा घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ‘जीवन रक्षा होम केयर’ सेवा लोकप्रिय बन्दै गएको छ। बिर्तामोडबाट सुरु भएको यो सेवा अहिले जिल्लाभर फैलिएको छ भने कोशी प्रदेशका अन्य स्थानमा विस्तारको क्रममा रहेको छ।
डा. चेवनराज कार्कीको नेतृत्वमा सञ्चालन भइरहेको संस्थाले अस्पताल जान नसक्ने तथा डिस्चार्ज भएका बिरामीलाई लक्षित गर्दै पेन म्यानेजमेन्ट, ड्रेसिङ, फिजियोथेरापी, स्लाइन चढाउनेलगायत सेवा घरमै पुर्याउँदै आएको छ। आवश्यक परेमा एम्बुलेन्स, इसिजी, अल्ट्रासाउन्ड र ल्याब परीक्षणसमेत घरमै उपलब्ध गराइन्छ।
विशेषगरी वृद्ध तथा दीर्घरोगी बिरामीका लागि यो सेवा प्रभावकारी देखिएको छ। न्यून शुल्कमा उपलब्ध सेवा र २४सै घण्टा स्वास्थ्य टोली परिचालन हुने व्यवस्थाले स्थानीयमा आकर्षण बढेको हो।
संस्थाले आगामी दिनमा टेलिमेडिसिन सेवा विस्तार गर्ने तथा अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।