वीरगञ्ज । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको चरम अभावले गम्भीर घाइते र सुत्केरी महिलासमेतको उपचार प्रभावित भएको छ। केन्द्रमा अहिले कुनै पनि समूहको रगत सञ्चित नरहेको जानकारी दिइएको छ।
रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेका अनुसार प्रतिनिधिसभा निर्वाचनताकादेखि नै रगत अभाव सुरु भएको हो। दैनिक डेढ सयभन्दा बढी बिरामीका आफन्त रगतको खोजीमा केन्द्र पुग्ने गरेका छन्। पहिले रगत पर्याप्त हुँदा बिरामीको अवस्था हेरेर सोधभर्नाविना नै रगत उपलब्ध गराइन्थ्यो, तर अहिले अभावका कारण सोधभर्नाविना रगत दिन नसकिने अवस्था आएको छ।
रक्तदान कार्यक्रम प्रभावित हुनु मुख्य कारण बनेको छ। निर्वाचनका कारण राजनीतिक दल र संघसंस्थाले आयोजना गर्दै आएका नियमित रक्तदान कार्यक्रम रोकिएका छन्। त्यसमाथि होली पर्व र मुस्लिम समुदायको रमजान एकै समयमा परेकोले रगत संकलन अझ न्यून भएको छ।
वीरगञ्जका अस्पतालहरूमा पर्सा, बारा, रौतहट, र सर्लाही लगायतका जिल्लाबाट ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गर्छन्। रगत अभावका कारण बिरामीको उपचारमा ढिलाइ र जोखिम बढेको छ।
रक्तसञ्चार केन्द्रले संघसंस्था, युवा समूह र नागरिकलाई रक्तदान कार्यक्रम आयोजना गर्न अपिल गरेको छ। नयाँ सरकार गठन नहुँदासम्म प्रभावकारी कार्यक्रम हुन सक्ने सम्भावना कम देखिएको भन्दै, तत्काल रगत संकलन गरेर अभाव टार्न सबैको सहयोग आवश्यक रहेको केन्द्रले जनाएको छ।