रसुवा । रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै स्थानीयवासीलाई उपचारमा सहज भएको छ। आर्थिक वर्ष २०८१/८२ देखि चालु आवको पुस मसान्तसम्म बाहिरङ्गतर्फ ११ हजार ५९८ र अन्तरङ्गतर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् भने ११५ शल्यक्रिया सम्पन्न भएका छन्।
१७ शय्याको अस्पतालले १८५ प्रकारका औषधि वितरण गर्दै आएको छ। ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ३० वर्षमाथिका ६६ जनालाई निःशुल्क उपचार सेवा दिइएको छ।
अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका शल्यक्रिया नियमित रूपमा हुँदै आएका छन्। साथै भिडियो एक्स–रे, दन्त तथा प्रयोगशाला सेवा पनि विस्तार गरिएको छ। कार्यक्रममा सहभागीहरूले सेवा थप प्रभावकारी बनाउन नयाँ एम्बुलेन्सको माग गरेका छन्। विशेषज्ञहरूले अस्पतालको सेवा सुधार हुँदै गएको जनाएका छन्।