झापा । बर्ड फ्लु झापामा पनि पुष्टि भएको छ । छिमेकी मोरङ पछि जिल्लाको दमक नगरपालिका–१० र झापा गाउँपालिका–७ मा रोग देखा परेको हो ।
पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमकको एग्रिकल्चर फार्म र झापा गाउँपालिका–७ स्थित सुदीक्षा कृषि फार्मका कुखुरामा संक्रमण देखिएको हो ।
घटनाको अध्ययनका लागि कोशी प्रदेश सरकारको र्यापिड रेस्पोन्स टोली झापा पुगेको छ । टोलीको प्रतिवेदनपछि थप विवरण सार्वजनिक हुने जनाइएको छ । प्रारम्भिक परीक्षणमा दमकमा हाइली प्याथोजेनिक र झापा गाउँपालिकामा लो प्याथोजेनिक प्रकार देखिएको छ । लो प्याथोजेनिक उपचारयोग्य भए पनि दमकका संक्रमित कुखुरा नष्ट गर्नुपर्ने बताइएको छ ।