बाजुरा । बाजुरा बाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी आमा र उनका नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका–१ सल्लेनाकी २१ वर्षीया सुरता कुमारी रोकाया र उनका नवजात शिशुको सुर्खेत स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अत्यधिक रक्तस्राव र श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय उपचार सम्भव नभएर ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
उद्धारपछि आईसीयूमा राखेर उपचार गरिए पनि आमा र शिशु दुवैलाई बचाउन नसकिएको प्रशासनले जनाएको छ । चिकित्सकका अनुसार रोकाया मुटु सम्बन्धी समस्या भएकी उच्च जोखिम गर्भवती थिइन् । दुर्गम क्षेत्रका कारण समयमै विशेषज्ञ सेवा नपुग्दा घटना भएको बताइएको छ ।