काठमाडौं । नेपाल मेडिसिटी अस्पताल मा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी उन्नत तालिम सुरु भएको छ। स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (EMRS) सँगको सहकार्यमा आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ आइतबार चैत्र ९ गते देखि १३ (मार्च २३- २७) सम्म सञ्चालन हुनेछ।
तालिमले आकस्मिक तथा गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। विशेषगरी हेलिकोप्टरमार्फत गरिने ‘एयरलिफ्ट’ उद्धारका क्रममा बिरामीको व्यवस्थापन, स्थानान्तरण र उपचार प्रक्रियालाई व्यवस्थित बनाउनेतर्फ प्रशिक्षण केन्द्रित छ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिट्युड सर्भिस प्रमुख डा। सञ्जय कार्की का अनुसार प्रशिक्षणमा बिरामीलाई सुरक्षित रूपमा सार्ने, हेलिकोप्टरभित्र उचित अवस्थिति कायम गर्ने र यात्रा अवधिभर आवश्यक हेरचाह गर्ने विषयमा ‘मोक टेस्ट’ सहित व्यावहारिक अभ्यास गराइनेछ। उनले नेपालको भौगोलिक अवस्थाले हेलिकोप्टरमार्फत उद्धारलाई अत्यावश्यक बनाएको उल्लेख गर्दै दुर्गम क्षेत्र, पर्वतारोहण र आपतकालीन अवस्थामा हेलि–रेस्क्युको भूमिका महत्वपूर्ण रहेको बताए।
नेपालमा हाल ७ वटा अस्पतालमा हेलिप्याड (हेलि–रुफ) सुविधा रहेको छ भने सन् २०१३ देखि उपचारका लागि हेलिकोप्टर उद्धार सेवा सुरु भएको हो। नेपाल मेडिसिटी अस्पताल ले अहिलेसम्म १,७६७ जना बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गरिसकेको छ, जसमा १,१९८ घटनामा चिकित्सक टोली नै खटिएको थियो। कोरोना महामारीका क्रममा मात्र २१० जनाको हेलि उद्धार गरिएको तथ्यांक छ।
तालिम उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकी ले नेपालमा आकस्मिक सेवाको क्षमता विस्तारका लागि विभिन्न तालिमहरू सञ्चालन हुँदै आएको जानकारी दिए। उनका अनुसार देशभर करिब १,७०० एम्बुलेन्स सञ्चालनमा रहे पनि सीमित संख्यामा मात्रै चिकित्सक तथा प्रशिक्षित जनशक्ति उपलब्ध छ। उनले सरकारले हेलि–एम्बुलेन्स सेवा र आपतकालीन उद्धार प्रणालीलाई व्यवस्थित बनाउन नीतिगत तयारी गरिरहेको समेत बताए।
कार्यक्रममा स्विट्जरल्यान्ड, भारत र जापान लगायतका देशका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ। विशेष अतिथिका रूपमा प्रा। डा। मोनिका ब्रोडम्यान माडेर, पद्मश्री सम्मानित डा। सुब्रतो दास र सह–प्राध्यापक ताकाशी इशिजाकी उपस्थित छन्।
तालिममा प्रि–हस्पिटल केयर तथा आकस्मिक सेवामा संलग्न करिब ३० जना स्वास्थ्यकर्मी सहभागी छन्। नर्भिक अस्पताल, ह्याम्स अस्पताल, ग्रान्डि अस्पताल, बयोधा अस्पताल लगायतका निजी अस्पतालका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बाट पनि सहभागिता रहेको छ।
अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतो ले यस्ता कार्यक्रमले स्वास्थ्य क्षेत्रमा अन्तरसंस्थागत सहकार्य मजबुत बनाउँदै अन्तर्राष्ट्रियस्तरको सेवा प्रवाहमा टेवा पुग्ने बताए। त्यस्तै, प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमर ले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
यस तालिमले नेपालमा रिट्रिभल मेडिसिनसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नुका साथै गम्भीर बिरामीहरूको सुरक्षित स्थानान्तरण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने अपेक्षा गरिएको छ।