काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले क्षयरोग (टिबी) नियन्त्रणमा खुद्रा औषधि व्यवसायीलाई राष्ट्रिय साझेदारका रूपमा समेट्न सरकारसँग आग्रह गरेको छ। विश्व क्षयरोग दिवस २०८२ को अवसरमा संघले यस्तो अपिल गरेको हो।
संघका अनुसार क्षयरोग अझै पनि विश्वकै प्रमुख संक्रामक रोगमध्ये एक हो। विश्व स्वास्थ्य संगठन का तथ्यांकअनुसार सन् २०२४ मा विश्वभर करिब १ करोड ७ लाख मानिस त्द्य बाट प्रभावित भएका थिए भने १२ लाखभन्दा बढीको मृत्यु भएको अनुमान छ।
नेपालमा पनि क्षयरोग गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीकै रूपमा रहेको उल्लेख गर्दै संघले औषधि प्रतिरोधी क्षयरोग (DR-TB) थप चिन्ताको विषय बनेको जनाएको छ। यस्तो अवस्थामा प्रारम्भिक पहिचान, समयमै परीक्षण र उपचार निरन्तरता अत्यावश्यक रहेको संघको भनाइ छ।
संघले समुदायमा पहिलो सम्पर्क बिन्दुका रूपमा रहेका खुद्रा औषधि पसललाई टिबी नियन्त्रण रणनीतिमा औपचारिक रूपमा समावेश गर्नुपर्नेमा जोड दिएको छ। लामो समयसम्म खोकी, ज्वरो, तौल घट्ने जस्ता लक्षण भएका बिरामीले पहिलोपटक औषधि पसलमै पुग्ने भएकाले प्रारम्भिक पहिचान र रेफरलमा उनीहरूको भूमिका महत्वपूर्ण हुने बताइएको छ।
संघले JANTRA सँगको सहकार्यमा टिबी सम्भावित बिरामी पहिचान, परीक्षणका लागि रेफरल तथा जनचेतना अभिवृद्धिमा काम गर्दै आएको जनाएको छ। त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र सँग औपचारिक सहकार्य गर्दै सार्वजनिक-निजी साझेदारी (PPP) मोडेलमार्फत टिबी नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ। संघले क्षयरोग जाँच, परामर्श, सिफारिस, संक्रमण रोकथाम, औषधि प्रयोगको व्यवस्थापन तथा जनचेतनामूलक अभियानमा निजी क्षेत्रलाई जोड्ने नीति आवश्यक रहेको औंल्याएको छ।
संघका अध्यक्ष शंकर महर्जन र महासचिव शुभमान श्रेष्ठले “क्षयरोग अन्त्य केवल सरकारी निकायको मात्र होइन, समग्र समाजको साझा जिम्मेवारी हो” भन्दै सरकार, समुदाय र औषधि व्यवसायीबीच समन्वयात्मक सहकार्य अपरिहार्य रहेको बताएका छन्।