काठमाडौँ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको यसअघि स्थगित निर्वाचन अब पुनः सञ्चालन हुने भएको छ। निर्वाचन समितिले पाटन उच्च अदालतको आदेशपछि नयाँ मिति तय गर्दै अद्यावधिक कार्यतालिका सार्वजनिक गरेको हो।
चैत ११ गते बसेको निर्वाचन समितिको बैठकले अदालतमा दायर विभिन्न मुद्दाको फैसलालाई आधार मानेर निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। अदालतले यसअघि दर्ता भएका सबै उम्मेदवारीलाई यथावत् राख्न आदेश दिएपछि सोही अनुसार निर्वाचन तालिका मिलाइएको हो।
प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यद्वारा जारी सूचनाअनुसार काठमाडौँ उपत्यका बाहिर २०८२ चैत २८ र २९ गते मतदान हुनेछ। त्यस्तै, काठमाडौँ उपत्यकाभित्र भने २०८३ वैशाख १०, ११ र १२ गते निर्वाचन सम्पन्न गरिने तय गरिएको छ। निर्वाचन समितिले सम्बन्धित सबै चिकित्सक तथा सरोकारवालालाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ। साथै निर्वाचनसँग सम्बन्धित थप विवरण चाँडै सार्वजनिक गरिने पनि जनाएको छ।