काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले विगत एक वर्षमा ४ लाखभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको जनाएको छ। सङ्घको सञ्जालअन्तर्गतका २८ आँखा अस्पताल, २२६ उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत ४ लाख ५४ हजार ९४२ जनाले निःशुल्क सेवा पाएका हुन्।
कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सन् २०२५ मा मात्र ३३ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण गरिएको छ भने २ लाख ६६ हजारभन्दा बढीको शल्यक्रिया गरिएको छ। तीमध्ये २५ हजारभन्दा बढी शल्यक्रिया निःशुल्क गरिएको हो।
सङ्घका महासचिव भरतबहादुर चन्दले नेपालमा उपलब्ध गुणस्तरीय सेवाका कारण भारतलगायत अन्य देशबाट समेत बिरामी आउने क्रम बढ्दै गएको बताए। उनका अनुसार एक वर्षमा ९ लाखभन्दा बढी विदेशी नागरिकले आँखा परीक्षण गराएका छन्।
यद्यपि, सङ्घका अध्यक्ष प्रा.डा. चेजराज पन्तले अझै पनि जनचेतनाको अभावका कारण धेरै नागरिक उपचारबाट वञ्चित रहेको उल्लेख गरे। उनले अन्धोपन न्यूनीकरण र आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिँदै सन् २०३० सम्म अन्धोपन दर घटाउने लक्ष्य राखिएको जानकारी दिए।