दैलेख । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभावबीच दैलेख अस्पतालका चिकित्सकको सक्रियताले एक गम्भीर घाइते युवकको ज्यान जोगिएको छ। आठबीस नगरपालिका–७ का २७ वर्षीय जीवन चन्दमाथि धारिलो हतियार प्रहार हुँदा अत्यधिक रक्तस्राव भएको अवस्थामा उनलाई बचाइएको हो।
अस्पतालका इन्चार्ज डा. मनोज विश्वकर्माको टोलीले बिरामी अस्पताल ल्याइने प्रतीक्षा नगरी आफैं घटनास्थलतर्फ प्रस्थान गरेको थियो। सदरमुकामदेखि टाढा पुगेपछि एम्बुलेन्समै चढेर गुडिरहेकै अवस्थामा प्राथमिक शल्यक्रियात्मक उपचार गर्दै रक्तस्राव नियन्त्रण गरिएको थियो।
डा. विश्वकर्माका अनुसार समयमै उपचार नभएको भए बिरामीको ज्यान जान सक्ने जोखिम उच्च थियो। प्रारम्भिक उपचारपछि घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
घटनामा संलग्न आरोपी फरार रहेको प्रहरीले जनाएको छ। चिकित्सक टोलीको तत्परताले स्थानीयस्तरमा प्रशंसा पाएको छ।