विराटनगर । छारे रोगप्रति समाजमा रहेका अन्धविश्वास र भ्रम हटाउने उद्देश्यले विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले जनचेतनामूलक र्याली आयोजना गरेको छ। विश्व छारे रोग सचेतना दिवसका अवसरमा आयोजित कार्यक्रममा ३०० भन्दा बढी चिकित्सक, कर्मचारी र विद्यार्थीको सहभागिता रहेको थियो।
बैजनी रंगका टी–सर्ट र सचेतनामूलक प्लेकार्डसहित सहभागीहरूले शहरका विभिन्न भाग परिक्रमा गर्दै छारे रोगबारे सही जानकारी फैलाउने प्रयास गरेका थिए। र्याली अस्पताल परिसरबाट सुरु भई हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, गोल्छा चोक र महेन्द्र चोक हुँदै पुनः अस्पतालमै पुगेर समापन गरिएको थियो।
कार्यक्रममा वरिष्ठ न्युरोलोजिस्ट डा। सुनन्द पौडेलले छारे रोग कुनै देवी–देउताको रिस वा झारफुकबाट हुने समस्या नभई मस्तिष्कमा हुने रासायनिक असन्तुलनका कारण देखिने रोग भएको स्पष्ट पार्नुभयो। उहाँले नियमित उपचार र विशेषज्ञको सल्लाह अनुसार औषधि सेवन गरेमा यो रोग नियन्त्रण तथा निको हुन सक्ने बताउनुभयो।
अस्पतालले यस्ता कार्यक्रमले सामाजिक भेदभाव घटाउन सहयोग पुग्ने विश्वास लिएको छ। साथै छारे रोगका बिरामीका लागि विशेष सहुलियतसहित स्वास्थ्य सप्ताह पनि सुरु गरिएको जनाएको छ।