ललितपुर । नेपाल मेडिसिटी मा पाँच दिने ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स (टिओटी)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ‘रिट्रिभल मेडिसिन’ विषयमा नेपालमै पहिलो पटक आयोजना गरिएको उक्त तालिम स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
रिट्रिभल मेडिसिन गम्भीर अवस्थामा रहेका बिरामीलाई एक स्थानबाट अर्को स्थान—जस्तै दुर्घटनास्थलबाट अस्पताल वा सानो अस्पतालबाट विशेषज्ञ अस्पताल—सम्म सुरक्षित रूपमा स्थानान्तरण गर्ने क्रममा आवश्यक पर्ने उन्नत आपतकालीन चिकित्सा सेवासँग सम्बन्धित शाखा हो। यसमा प्रि-हस्पिटल केयर, एम्बुलेन्स सेवा, हेलिकप्टर रेस्क्यु तथा ट्रान्सफरका क्रममा बिरामीको जीवन रक्षा गर्ने सीपहरू समावेश हुन्छन्।
तालिममार्फत चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई विशेषगरी आपतकालीन चिकित्सा सेवा, प्रि-हस्पिटल केयर र हेलिकप्टर रेस्क्यु सम्बन्धी दक्ष बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ। साथै, सहभागीहरूलाई भविष्यमा प्रशिक्षक (ट्रेनर) का रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ।
नेपाल मेडिसिटीका इमर्जेन्सी तथा हाई अल्टिट्यूड सर्भिस चिफ डा. सञ्जय कार्की ले तालिमले सहभागीहरूलाई आपतकालीन अवस्थामा बिरामीको सुरक्षित स्थानान्तरण तथा दबाबपूर्ण परिस्थितिमा काम गर्ने सीप प्रदान गरेको बताए। उनका अनुसार, यस कार्यक्रमले ‘रिट्रिभल मेडिसिन’ मा अन्तर्राष्ट्रिय स्तरको अध्ययनका लागि समेत आधार तयार पार्नेछ।
उनले रोयल कलेज अफ सर्जनस् अफ एडिनवर्ग ले प्रदान गर्ने ‘डिप्लोमा इन रिट्रिभल एण्ड ट्रान्सफर मेडिसिन’ परीक्षाका लागि समेत तालिम उपयोगी हुने उल्लेख गरे।
तालिममा मोक टेस्टमार्फत सहभागीहरूलाई अन्तर्राष्ट्रिय परीक्षाको ढाँचा, मूल्यांकन प्रक्रिया तथा व्यावहारिक परीक्षणबारे जानकारी गराइएको थियो।
कार्यक्रममा करिब ९० प्रतिशत चिकित्सक र बाँकी नर्स तथा प्यारामेडिक्सको सहभागिता रहेको थियो। ग्रान्डी अस्पताल, नर्भिक अस्पताल, ह्याम्स अस्पताल, नारायणी बयोद्या अस्पताल लगायतका संस्थाका स्वास्थ्यकर्मीहरूका साथै पोखरा, लुम्बिनी र वीरगञ्जबाट पनि सहभागिता रहेको थियो।
नेपाल मेडिसिटीले यस्ता तालिममार्फत नेपालमा प्रि-हस्पिटल आपतकालीन सेवाको स्तर उकास्न तथा दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको जनाएको छ। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।