बाँके । बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गोपाल नीना फाउन्डेसन नेपालद्वारा शनिबार सञ्चालन गरिएको शिविरबाट ३६५ जना स्थानीयले सेवा लिएका छन्।
शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति, मुटु, हाडजोर्नी, बालरोग र छाला रोग विशेषज्ञहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गरेका थिए।
विपन्न तथा स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयलाई लक्षित कार्यक्रम प्रभावकारी बनेको आयोजकले जनाएको छ। गाउँमै विशेषज्ञ सेवा पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन्। गाउँपालिका प्रवक्ता मसुद अहमद शाहले शिविरले सर्वसाधारणलाई ठूलो राहत पुगेको बताउनुभयो। आयोजकले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।