ललितपुर । ललितपुरमा तरकारी उत्पादनमा अत्यधिक विषादी प्रयोगका कारण क्यान्सर र मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजित बैठकमा प्रमुख डा. खगेश्वर गेलालले असुरक्षित विषादी प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै सचेतना अभाव नै मुख्य समस्या भएको बताए।
उनले उत्पादन बढाउन विषादी प्रयोग गरे पनि सुरक्षित प्रयोग र उपभोगबारे जानकारी दिन आवश्यक रहेको जोड दिए। सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा घिमिरे ढुङ्गेलले कृषक, उपभोक्ता र व्यवसायीबीच समन्वय अभाव रहेको भन्दै स्थानीय तहमार्फत सचेतना अभियान प्रभावकारी बनाउनुपर्ने बताइन्।
कृषि विकास कार्यालयकी बाली संरक्षण अधिकृत रितिक्षा पौडेलले विषादीको असुरक्षित प्रयोग मानव स्वास्थ्यका लागि खतरनाक रहेको बताउँदै सुरक्षित विधि अपनाउन आग्रह गरिन्। सहभागीहरूले किसानलाई आइपिएम (समेकित कीरा व्यवस्थापन) पद्धतितर्फ आकर्षित गर्नुपर्नेमा पनि जोड दिएका छन्।