नेपालगञ्ज । नेपालगञ्जमा खुला सीमाका कारण बर्ड फ्लुको जोखिम बढेपछि उच्च सतर्कता अपनाइएको छ। पशु क्वारेन्टाइन कार्यालय, बाँकेका अनुसार भारतबाट अवैध रूपमा ल्याइने कुखुराका चल्ला र अण्डा दैनिकजसो नियन्त्रण गरी नष्ट गरिँदै आएको छ।
कार्यालय प्रमुख डा। हरेराम यादवले हाल जिल्लामा बर्ड फ्लु पुष्टि नभए पनि जोखिम उच्च रहेको भन्दै आयातमा कडाइ गरिएको बताए। सरकारले भारतबाट कुखुराका चल्ला र सेतो अण्डा ल्याउन प्रतिबन्ध लगाएको छ।
उनका अनुसार सीमावर्ती नाकाबाट ल्याइने चल्ला प्रहरी देखेपछि छाडेर भाग्ने घटनासमेत देखिएका छन्। दैनिक रूपमा २०–२५ वटा ब्रोइलर कुखुरा नष्ट गरिँदै आएको कार्यालयले जनाएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा। गणेशबहादुर पुनले पनि निगरानी र आन्तरिक ढुवानीमा कडाइ गरिएको जानकारी दिए। सुइया, जमूनाहा लगायत खुला नाकामा विशेष निगरानी राखिएको छ।