काठमाडौँ । स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रवाहमा लापरबाही गर्ने अस्पताल तथा स्वास्थ्य संस्थामाथि कानुनी कारबाही गरिने भन्दै स्वास्थ्य बीमा बोर्डले कडा चेतावनी दिएको छ।
बोर्डका अनुसार हालैको अनुगमनका क्रममा केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई आवश्यक सेवा नदिने, दुःख दिने तथा विभेदपूर्ण व्यवहार गर्ने गरेको गुनासो बढ्दो रूपमा आएको छ। यस्तो प्रवृत्तिले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य नै प्रभावित हुने भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विशेषगरी बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता सिर्जना गर्ने, आवश्यक औषधि तथा सेवा उपलब्ध नगराउने र बीमित बिरामीप्रति असमान व्यवहार गर्ने जस्ता समस्या देखिएको बोर्डले उल्लेख गरेको छ।
स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत कुनै पनि गतिविधि नगर्न बोर्डले सबै सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ। नियम उल्लंघन भएको प्रमाणित भएमा ऐनअनुसार कारबाही गरिने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
बोर्डले सबै स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रहसमेत गरेको छ।