नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिफलिस (भिरिङ्गी) सम्बन्धी ‘भेनस अध्ययन २०२६’ अन्तर्गत तीन महिनामा ३२५ बिरामीको विवरण सङ्कलन गरिएको छ। छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईँको नेतृत्वमा भएको अध्ययनमा १८७ नयाँ संक्रमित पहिचान भएका छन्।
अध्ययनअनुसार २०–४० वर्ष उमेर समूहका युवामा संक्रमण बढी देखिएको छ भने नवजात शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत सिफलिस पुष्टि भएको छ। केही अवस्थामा आमाबाट बच्चामा संक्रमण सरेको पनि पाइएको छ।
भेरी अस्पतालले सेवा विस्तार गर्दै ‘भेनस कर्नर’ स्थापना गरी परामर्श, परीक्षण र उपचार सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ। विशेषज्ञका अनुसार सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी र स्वास्थ्य नीतिसँग जोडिएको जटिल समस्या भएकाले यसको नियन्त्रणका लागि थप प्रभावकारी रणनीति आवश्यक रहेको औंल्याइएको छ।