काठमाडौं। नेपाल दन्त सामग्री वितरकहरूको संघ (एनडिडिए)को आयोजनामा तीन दिने ‘नेप्डेन्ट डेन्टल ट्रेड शो २०२६’ यही चैत २६, २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
काठमाडौं आयोजित प्रत्रकार सम्मेलनमा संघका उपाध्यक्ष शेखर सुवेदीले दन्त चिकित्सा क्षेत्रका सम्पूर्ण पक्षलाई समेट्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए। उनका अनुसार मेलामा अस्पताल, क्लिनिक, दन्त चिकित्सक, विद्यार्थी, प्रयोगशाला तथा दन्त पेसाकर्मीका लागि गुणस्तरीय उपकरण तथा सामग्री उपलब्ध गराइनेछ।
मेलामा नेपालसहित विभिन्न देशका ५ सयभन्दा बढी ब्रान्ड, करिब १ सय स्टल तथा १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ। तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सुवेदीले यो मेला बी–टु–बी र बी–टु–सी दुवै प्रकृतिको भएकाले सिक्न र खरिद गर्न चाहने सबैका लागि उपयोगी हुने बताए।
सुवेदीका अनुसार नेप्डेन्ट मेला दन्त सामग्रीको व्यापार मेला भएकाले ग्राहकहरुलाई लक्षित गर्दै अफर र छुटको व्यवस्था रहेको छ । मेलामा विभिन्न ब्राण्डहरुमा १० देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था साथै प्रवेश निस्शुल्क रहेको बताउदैँ उक्त छुट तिनदिनका लागिमात्र रहेको समेत जानकारि गराए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुनिल बराइलीले नेपालमा चौथो पटक यस्तो मेला आयोजना गर्न लागिएको उल्लेख गरे। अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलाले दन्त सामग्रीसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै दन्त स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न, दक्षता बढाउन र आधुनिक प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले गरिएका छन्।
त्यस्तै, प्रदर्शनी संयोजक तथा पूर्वअध्यक्ष शालिग्रामले अन्तर्राष्ट्रिय स्तरका डेन्टल सामग्री तथा उपकरणहरूको भव्य प्रदर्शनी हुने जानकारी दिए। उनका अनुसार विभिन्न देशका प्रतिष्ठित ब्रान्ड र विशेषज्ञहरूले नवीनतम प्रविधि, उपकरण तथा सेवाहरू प्रस्तुत गर्नेछन्।
यसै अवसरमा २०८३ सालको क्यालेन्डर पनि सार्वजनिक गरिएको छ। उक्त क्यालेन्डरमार्फत दन्त क्षेत्रका संघ–संस्था, चिकित्सक तथा सरोकारवालाहरूका कार्यक्रमलाई समन्वय गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।