चितवन। जिल्लामा ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको खोप अभियान यही चैत २५ गतेदेखि सञ्चालन हुने भएको छ। अभियान चैत ३० गतेसम्म चल्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाइनेछ। खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिका र ३० वर्षमाथिका व्यक्तिलाई लक्षित गरिएको छ।
कार्यालयका किट नियन्त्रणक राम केसीका अनुसार जिल्लामा जापानिज इन्सेफलाइटिसका कारण सन् २०२४ मा एक जनाको मृत्यु भएको थियो भने चार जना संक्रमित भएका थिए। सन् २०२५ मा भने १६ जना संक्रमित हुँदा पाँच जनाले ज्यान गुमाएका छन्।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो। विशेषगरी साँझ र बिहान सक्रिय हुने यो लामखुट्टे घरबाहिर बस्न रुचाउने र बाहिरै टोक्ने गर्छ। सुँगुर, बङ्गुर र हाँसजस्ता पशुपन्छीलाई टोक्दा संक्रमण सर्ने जोखिम बढी हुने जनाइएको छ। धानखेती क्षेत्रमा यसले अण्डा पार्ने र लार्भा विकास गर्ने भएकाले त्यस्ता स्थान जोखिमयुक्त मानिन्छन्।