काठमाडौँ। वीर अस्पतालले चिकित्सकलाई बिरामीका लागि औषधि सिफारिस गर्दा कुनै कम्पनी वा ब्रान्ड नतोकी जेनेरिक नाममै लेख्न निर्देशन दिएको छ। कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माका अनुसार औषधि सिफारिस गर्दा लाइसेन्स नम्बर र हस्ताक्षर अनिवार्य गरिएको छ।
अस्पतालले औषधि प्रमोसन गर्ने व्यक्तिलाई कार्यालय समयभित्र अस्पताल प्रवेशमा रोक लगाएको छ भने बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि किन्न प्रेरित नगर्न पनि सचेत गराएको छ। उल्लङ्घन भए कारबाही हुने जनाएको छ।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘हेलो सरकार’मार्फत आउने गुनासो सम्बोधन गर्न ४६ स्वास्थ्य संस्थालाई ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएको छ।