काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन यस वर्ष पनि भव्य रूपमा हुने भएको छ। परिषद्का अनुसार १२औं संस्करणको उक्त सम्मेलन २०८२ साल चैत्र २७ देखि २९ गतेसम्म (अप्रिल १०–१२) सोल्टी होटल मा सञ्चालन हुनेछ।
यस वर्ष सम्मेलनले “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” भन्ने मूल नारालाई केन्द्रमा राख्दै स्वास्थ्य क्षेत्रका अनुसन्धान, नीति निर्माण र व्यवहारिक अभ्यासबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन जोड दिनेछ। आयोजकका अनुसार सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न अनुसन्धानमा आधारित निर्णय प्रक्रियाको महत्त्व उजागर गर्नेछ।
कार्यक्रमको उद्घाटन नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले गर्ने तय भएको छ। सम्मेलनमा १२०० भन्दा बढी स्वदेशी सहभागीहरूका साथै बेलायत, अमेरिका, भारत, अष्ट्रेलिया, फिलिपिन्स, कोरिया तथा युरोपबाट केही अन्तर्राष्ट्रिय विज्ञहरूको पनि उपस्थिति रहनेछ। यद्यपि मध्यपूर्व क्षेत्रमा देखिएको अस्थिरताका कारण अघिल्लो वर्षको तुलनामा विदेशी सहभागिता केही घटेको आयोजकले जनाएको छ।
सम्मेलनका लागि प्राप्त ४६५ वटा अनुसन्धान सार (abstract) मध्ये ९१ वटा मौखिक प्रस्तुति र १२० वटा पोस्टर प्रस्तुति छनोट गरिएका छन्। तीन दिनसम्म चल्ने कार्यक्रममा एक plenary session, ३५ वटा आमन्त्रित प्रस्तुति, १२ वटा समानान्तर सत्र तथा ५ वटा प्यानल छलफल समावेश गरिएका छन्।
समानान्तर सत्रहरूमा नसर्ने रोगदेखि मानसिक स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य, कृत्रिम बुद्धिमत्ता, महामारी तयारी, जलवायु परिवर्तन, स्वास्थ्य वित्त, आयुर्वेद, Universal Health Coverage लगायत विविध विषयमा प्रस्तुति र छलफल हुनेछ। साथै, अनुसन्धान सुशासन, आचारसंहिता, क्लिनिकल ट्रायल सञ्चालन, शैक्षिक संस्था र उद्योगबीच सहकार्य तथा स्वास्थ्य बीमा सुधारका विषयमा विज्ञहरूबीच गहन बहस हुने कार्यक्रम रहेको छ।
सम्मेलनका अवसरमा स्वास्थ्य अनुसन्धान क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान पनि गरिनेछ। यसअन्तर्गत उत्कृष्ट शोधपत्र, युवा अनुसन्धानकर्ता, आजीवन योगदान, उत्कृष्ट प्रस्तुति, अनुसन्धान पत्रकारिता लगायतका पुरस्कारहरू प्रदान गरिनेछन्।
परिषद्ले यस सम्मेलनमार्फत अनुसन्धानको गुणस्तर अभिवृद्धि, नीति निर्माणमा प्रमाणको प्रभावकारी प्रयोग तथा स्वास्थ्य क्षेत्रका विभिन्न पक्षबीच सहकार्य विस्तार हुने विश्वास व्यक्त गरेको छ। साथै, युवा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्दै नेपालको स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र दिगो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले सम्मेलन सफल बनाउन सबै सरोकारवाला, साझेदार, सहभागी तथा सञ्चार माध्यमलाई सक्रिय सहयोगका लागि अपिल गर्नुभएको छ।