विराटनगर । पूर्वी नेपालको स्वास्थ्य सेवामा विगत २५ वर्षदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टीस्पेशयलिटी हस्पिटलले अत्याधुनिक दन्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
अस्पतालले आफ्नो मौजुदा दन्त विभागलाई पूर्ण रूपमा स्तरोन्नति गरी नयाँ स्वरूपमा विस्तार गर्दै बिरामीहरूको बढ्दो आवश्यकता र आधुनिक दन्त उपचारको मागलाई सम्बोधन गर्ने उद्देश्यले सेवा सुरु गरेको हो।
अस्पताल परिसरमा आयोजित उद्घाटन समारोहमा कार्यकारी निर्देशक डा। अनिशा विष्ट र अपरेशनल निर्देशक राजेश भट्टराईले संयुक्त रूपमा दन्त विभागको शुभारम्भ गरे। कार्यक्रममा विशेषज्ञ डेन्टल सर्जन डा। अमित प्रताप शाह तथा मुख तथा बङ्गारा रोग विशेषज्ञ डा. जितेन्द्र मण्डलको उपस्थिति रहेको थियो।
सो अवसरमा डा. जितेन्द्र मण्डलले अब यस क्षेत्रका बिरामीहरूले दाँतसम्बन्धी सामान्य समस्यादेखि लिएर मुख, बङ्गारा तथा अनुहारका जटिल शल्यक्रियाका लागि बाहिर धाउन नपर्ने बताए । त्यस्तै, डा। अमित प्रताप शाहले अत्याधुनिक मेसिन र डिजिटल प्रविधिको प्रयोगमार्फत पीडारहित दन्त उपचार सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यकारी निर्देशक डा। अनिशा विष्टले अस्पताल सधैँ गुणस्तरीय सेवा र बिरामीमैत्री सुविधामा प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ विभागले सेवाको दायरा थप विस्तार गर्ने विश्वास व्यक्त गरे। अपरेशनल निर्देशक राजेश भट्टराईले ‘मल्टीस्पेशयलिटी’ अवधारणालाई यस सेवाले थप सुदृढ बनाएको बताए।
अस्पतालका अनुसार नयाँ दन्त विभागमार्फत दाँत तथा मुखको विशेषज्ञ जाँच, दाँत भर्ने सेवा, गिजा तथा दाँत सफाइ, साधारण तथा शल्यक्रियाद्वारा दाँत उखेल्ने, दाँतको नसाको उपचार, हड्डीभित्र अड्किएको दाँतको उपचार तथा अत्याधुनिक डिजिटल प्रविधिबाट दाँतको भित्री अवस्था परीक्षणजस्ता सेवा उपलब्ध हुनेछन्।
अत्याधुनिक पूर्वाधार र अनुभवी चिकित्सकको टोलीसहित सञ्चालनमा आएको यो सेवा विराटनगर र आसपासका क्षेत्रका बासिन्दाका लागि सुलभ र गुणस्तरीय दन्त उपचारको नयाँ विकल्प बन्ने विश्वास गरिएको छ।

