तनहुँ । तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २२ हजार ८५६ जनाले सेवा लिएका छन्।
तनहुँसँगै लमजुङ, कास्की, चितवन र गोरखाबाट समेत बिरामी आउने गरेका छन्। छिटो, सरल र प्रभावकारी सेवा प्रवाहका कारण बिरामीको चाप बढेको चिकित्सालयले जनाएको छ। अधिकांश बिरामी पेटसम्बन्धी समस्या, अम्लपित्त, बाथ, श्वासप्रश्वास, प्रेसर, सुगर तथा महिला–प्रसूति समस्याका रहेका छन्। दैनिक ३५ देखि ६५ जनासम्म उपचारका लागि आउने गरेका छन्।
चिकित्सालयको ओपिडी सेवा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुँदै आएको छ।