कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२३ जनामा सिकलसेल एनिमिया–थालसेमिया ट्रेट (बाहक) पहिचान भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक सातासम्म चलेको शिविरमा २ हजार ६४७ जनाको रगत परीक्षण गरिएको थियो। तीमध्ये १४८ महिला र ७५ पुरुषमा ट्रेट देखिएको हो। पोजेटिभ देखिएकाहरूको थप पुष्टि परीक्षणका लागि नमुना प्रादेशिक प्रयोगशालामा पठाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार यो रोग वंशाणुगत भएकाले विशेषगरी थारु समुदायमा बढी देखिन्छ। समयमै पहिचान र सचेतना अभावमा समस्या जटिल बन्न सक्ने भन्दै उच्च जोखिम क्षेत्रका स्थानीय तहमा यस्ता शिविर सञ्चालन गरिएको जनाइएको छ।
सिकलसेल रोग भएका व्यक्तिमा थकान, श्वासप्रश्वासमा समस्या, शरीर दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिन सक्छन्।