काठमाडौं । काठमाडौंमा मोटोपन (ओबिसिटी) सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। South Asian Obesity Forum को आयोजनामा भएको यस सम्मेलनमा विभिन्न देशका विज्ञहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा करिब ४ सय जना सहभागी छन्, जसमा १ सयभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू र ३ सय जति नेपाली स्वास्थ्य विशेषज्ञहरू सहभागी भएको आयोजकले जनाएको छ।
सम्मेलनको मुख्य उद्देश्य दक्षिण एशियामा तीव्र रूपमा बढ्दै गएको मोटोपन समस्यालाई कसरी संयुक्त प्रयासबाट नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नु हो। फोरमकी अध्यक्ष तथा इन्डोक्राइनोलोजिस्ट डिना श्रेष्ठ ले मोटोपन अहिले नेपालसहित दक्षिण एशियाभर गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताइन्। उनले यस समस्यालाई नियन्त्रण गर्न क्षेत्रीय सहकार्य र प्रभावकारी कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्।
प्रि–कन्फ्रेन्स कार्यक्रममा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश का विज्ञहरूले मोटोपन विरुद्ध सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूका अनुसार मोटोपनकै कारण मधुमेह, मुटुरोग, मिर्गौला रोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढिरहेका छन्।
विज्ञहरूले मोटोपन दुई प्रकारको हुने बताएका छन्—बाहिरबाटै देखिने मोटोपन र शरीर भित्र लुकेको (इन्टरनल) मोटोपन। बाहिर हेर्दा दुब्लो देखिए पनि भित्री अंगमा बोसो जमेको अवस्था अझ खतरनाक हुन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ। कार्यक्रममा वरिष्ठ इन्डोक्राइनोलोजिस्ट तथा लाइफस्टाइल कोच सन्तोष शाक्य ले मोटोपन नियन्त्रणका लागि व्यक्तिगत स्तरमै सचेतना आवश्यक रहेको बताए।
उनले “आहार, विहार र विचार” मा सुधार गर्नु नै स्वस्थ जीवनको मुख्य आधार भएको उल्लेख गरे। सम्मेलनमा मोटोपनबाट उत्पन्न स्वास्थ्य समस्या, उपचारका उपाय, औषधिको प्रयोग तथा रोकथामका रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ।