काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय ऐन–नियमविपरीत नभएको स्पष्ट पारेको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त विषयमा उठेका विरोधप्रति ध्यानाकर्षण भएको जनाउँदै शाहलाई दिइएको छात्रवृत्ति नियमित ‘मेरिट’ कोटाअन्तर्गत नभई विशेष अतिरिक्त कोटाबाट प्रदान गरिएको जनाएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको नियमित छात्रवृत्तिबाट अलग्गै सरकारले बजेट व्यवस्थापन गरी अतिरिक्त कोटामा अध्ययन गराउने निर्णय गरिएको मन्त्रालयको भनाइ छ। यसबाट अन्य विद्यार्थीको अवसरमा कुनै असर नपर्ने पनि स्पष्ट पारिएको छ।
जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउने कार्यविधि, २०८२ अनुसार चिकित्सा शिक्षा आयोगको सिफारिस र मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले चैत १ गते यस्तो निर्णय गरेको हो। शाहले शैक्षिक वर्ष २०८२/८३ का लागि सञ्चालन भएको एमबीबीएस प्रवेश परीक्षामा ५७.५ प्रतिशत अंक ल्याएर उत्तीर्ण हुनुभएको मन्त्रालयले जनाएको छ।
