काठमाडौँ । साताको दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवा प्रभावित हुन सक्ने चिन्ताबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सेवा निरन्तरता सुनिश्चित गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा बिरामीको उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले बिदाका दिनमा समेत नियमित स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको हो। मन्त्रालयका अनुसार यसको सकारात्मक प्रभाव देखिन थालेको छ र धेरैजसो अस्पतालहरूले बिदाका दिनमा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गरिरहेका छन्।
यस्तै, मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट आएका गुनासोप्रति आफू जानकार रहेको जनाएको छ। ती समस्याको समाधानका लागि आवश्यक पहल गरिने र यसतर्फ मन्त्रालय प्रतिबद्ध रहेको पनि स्पष्ट पारिएको छ।
नागरिकको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई प्राथमिकतामा राख्दै सेवा निरन्तरता कायम राख्नु सबै सरोकारवालाको साझा दायित्व भएको मन्त्रालयको भनाइ छ। स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी, सन्तुलित र दिगो बनाउन मन्त्रालयले आवश्यक कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ। उक्त कार्यविधि लागू नहुँदासम्म उपलब्ध जनशक्ति र स्रोत साधनका आधारमा सेवा सञ्चालन गर्न अस्पतालहरूलाई अनुरोध गरिएको छ।
मन्त्रालयले हालसम्म प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चिकित्सक र स्वास्थ्यकर्मीबीच सहकार्य र समन्वय अझ सुदृढ हुने अपेक्षा गरेको छ।