काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
ओलीको सचिवालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार गरिएको शल्यक्रिया चिकित्सक टोलीले सफलतापूर्वक सम्पन्न गरेको हो। शल्यक्रियापछि उनलाई अपरेसन थिएटरबाट आईसीयूमा सार्ने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिएका छन्।
चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा करिब २२ एमएम आकारको पत्थरी रहेको थियो, जसलाई हटाउन शल्यक्रिया गरिएको हो। स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण अस्पतालले छिट्टै प्रेस नोटमार्फत सार्वजनिक गर्ने जनाएको छ।
यसअघि स्वास्थ्य समस्याकै कारण देखाउँदै ओली चैत १४ गते अस्पताल भर्ना भएका थिए। सोही दिन भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालत ले अनुसन्धानका लागि दिइएको म्याद सकिएपछि ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनी हाजिर जमानीमा छुटेका भए पनि स्वास्थ्य अवस्थाका कारण अस्पतालमै उपचाररत रहेका थिए।
चिकित्सकले पूर्वनिर्धारित तालिका अनुसार सोमबार बिहान शल्यक्रिया सम्पन्न गरेका हुन्। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।