भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ले स्थापना भएको १३ वर्षमा १६०६ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ। केन्द्रका अनुसार हालसम्म ३६ जनामा कलेजो प्रत्यारोपण पनि सम्पन्न भइसकेको छ।
सीमित स्रोतका बाबजुद केन्द्रमा हप्तामा ४–६ जनासम्म मिर्गौला प्रत्यारोपण हुँदै आएको छ। चालु आर्थिक वर्षको असारसम्म थप २०० जनाको प्रत्यारोपण गर्ने लक्ष्य राखिएको छ भने पछिल्लो ६ महिनामै १०० जनामा प्रत्यारोपण गरिएको छ।
कार्यकारी निर्देशक डा। कल्पनाकुमारी श्रेष्ठ को नेतृत्वमा केन्द्रले सेवा विस्तार गर्दै आएको छ। युरोलोजिस्ट डा। दिपेश श्रेष्ठ को नेतृत्वमा प्रत्यारोपण सेवा सञ्चालन भइरहेको छ। केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपणजस्ता उपलब्धि हासिल गरेको जनाएको छ। साथै सेवा सातै प्रदेशमा विस्तार गर्ने तयारी समेत अघि बढाइएको छ।