चितवन । चितवनमा रगतको माग बढ्दो क्रममा रहे पनि रक्तदाताको सङ्ख्या बढ्न नसक्दा अभाव गम्भीर बन्दै गएको छ। दैनिक करिब १५० युनिटसम्म रगत आवश्यक पर्ने भए पनि सङ्कलन सोही अनुपातमा हुन सकेको छैन।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १६९ स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट ११ हजार ५३२ युनिट र केन्द्रमा ३ हजार १८१ युनिट रगत सङ्कलन भएको छ। अघिल्ला वर्षहरूको तुलनामा केन्द्रमै पुगेर रक्तदान गर्नेहरूको सङ्ख्या घट्दो देखिएको छ।
युवा जनशक्ति विदेशिनु, उमेरसँगै देखिने रोगका कारण रक्तदान गर्न नमिल्नु जस्ता कारणले दाता घट्दै गएको जनाइएको छ। चितवनमा देशभरिबाट बिरामी आउने भएकाले रगतको माग उच्च छ, जसका कारण छिमेकी जिल्लाबाट रगत ल्याउँदा पनि अपुग हुने अवस्था रहेको छ।
विशेषगरी क्यान्सर अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालमा उपचारका लागि ठूलो मात्रामा रगत आवश्यक पर्ने भएकाले समस्या झन् जटिल बनेको छ। सरोकारवालाहरूले रक्तदातालाई उत्प्रेरित गर्न र व्यवस्थापन सुधार गर्न सके मात्रै अभाव कम गर्न सकिने बताएका छन्।