बाँके । बाँके जिल्लामा करिब ८ सय बालबालिका अझै पूर्ण खोपको पहुँच बाहिर रहेको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा सङ्ख्या घटे पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।
पूर्ण खोप नपाएका बालबालिकामध्ये मुस्लिम समुदायका सबैभन्दा बढी ३५४ जना रहेका छन् भने मधेसी १८९, दलित १२८, जनजाति ५७ र अन्य समुदायका बालबालिका रहेका छन्।
छुटेका बालबालिकालाई समेट्न वैशाखभर विशेष खोजपड्ताल अभियान सञ्चालन गरिनेछ। १६ देखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै घर–घरमै पुगेर खोप सेवा दिइने तयारी गरिएको छ।
सरकारले वैशाखलाई ‘खोप महिना’का रूपमा मनाउँदै आएको छ भने दोस्रो साता ‘खोप सप्ताह’का रूपमा विशेष कार्यक्रम सञ्चालन हुनेछ। स्वास्थ्यकर्मीका अनुसार खोपको पहुँच बढेसँगै बाल मृत्युदर घट्दै गएको भए पनि केही क्षेत्रमा सचेतना र पहुँच अभावका कारण अझै बालबालिका छुटिरहेका छन्।