काठमाडौं । सरकारी अस्पतालहरूमा अब साताको दुई दिन ओपिडी सेवा बन्द हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र १४ पेसागत संगठनबीच भएको सहमतिपछि शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय भएको हो।
यससँगै देशभरका सरकारी अस्पतालमा नियमित ओपिडी सेवा दुई दिन बन्द रहनेछ । तर आकस्मिक तथा अन्तरंग सेवा भने २४ सै घण्टा यथावत सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्ले सबै सरकारी कर्मचारीलाई दुई दिन बिदा दिने निर्णय गरे पनि स्वास्थ्य क्षेत्रमा भने आइतबार सेवा खुला राख्ने अडान लिइएको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले समान सुविधा माग गर्दै दबाब बढाएपछि सरकार पछि हटेको हो।
मन्त्रालय स्रोतका अनुसार कार्यान्वयनको विस्तृत मोडालिटी छिट्टै सार्वजनिक गरिनेछ। साथै, दुई दिन ओपिडी बन्द हुँदा आकस्मिक सेवामा चाप नबढोस् भन्ने उद्देश्यले सेवा क्षमता विस्तार गर्ने तयारी पनि गरिएको छ।