बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ। फागुन अन्त्यतिर सञ्चालन गरिएको खोप अभियानपछि संक्रमितको संख्या उल्लेख्य रूपमा घटेको हो।
पहिले दैनिक १०–१५ शङ्कास्पद बिरामी देखिने गरेकामा पछिल्लो आठ दिनयता एक जनामात्रै बिरामी भेटिएको छ। हालसम्म २३९ शङ्कास्पद बिरामीमध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ।
१० देखि १९ वर्ष उमेर समूहका ६ हजार १४० जनालाई खोप लगाएपछि अवस्था सुधारिएको स्वास्थ्य अधिकारीले बताएका छन्। अधिकांश बिरामी निको भइसकेका छन् भने स्थिति नियन्त्रणतर्फ उन्मुख छ।