काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार काठमाडौं स्थित एभरेष्ट होटलमा सम्पन्न संघको आठौँ अधिवेशनबाट शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष सुमन पाण्डे, वरिष्ठ उपाध्यक्षमा डा. सुमन पौडेल तथा उपाध्यक्षमा विनोद अधिकारी रहेका छन्। महासचिवमा पिताम्बर आचार्य निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अर्जुन पौडेल, सचिवमा डिल्लीप्रसाद घिमिरे र सह–कोषाध्यक्षमा मीनप्रसाद ढकाल चयन भएका छन्।
यसैगरी सदस्यहरूमा सिद्धार्थ खण्डेलवाल, राजु अधिकारी, नारायण सापकोटा, मनीषकुमार झा र जीना पौडेल निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति डा. ओजस्वी शेरचनले गरेकी थिइन्। उनले आयुर्वेदिक औषधिको महत्व औँल्याउँदै यसको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा. पुष्पराज पौडेल, औषधि व्यवस्था विभागका किरण सुन्दर बज्राचार्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी तथा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष प्रकाश खण्डेलवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।