स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६ को नवौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ। उक्त एक्स्पो आगामी वैशाख १७ गतेदेखि भृकुटीमण्डप मा तीन दिनसम्म सञ्चालन हुनेछ।
एस डी प्रोमो मिडिया प्रालि र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल ९केमसान०को सहकार्यमा आयोजना हुने यस प्रदर्शनीमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अत्याधुनिक प्रविधि, उपकरण, उत्पादन तथा सेवाहरू एकै स्थानमा अवलोकन गर्न पाइनेछ। आयोजकका अनुसार यसपटकको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ।
केमसानका अध्यक्ष भक्त हमालका अनुसार यस प्रदर्शनीले स्वास्थ्य सेवा, औषधि उद्योग तथा अनुसन्धान संस्थाहरूले प्रयोग गर्दै आएका सामग्रीबारे जानकारी दिनेछ। साथै, यसले नयाँ प्रविधि र उत्पादनबारे जानकारी मात्र नभई क्रेता र आपूर्तिकर्ताबीच व्यापार विस्तारको अवसर समेत सिर्जना गर्ने विश्वास गरिएको छ।
एक्स्पोमा नेपाल, भारतसहित विभिन्न देशका ४७५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १,००० भन्दा बढी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्। प्रदर्शनीमा विश्वस्तरीय मेडिकल टेक्नोलोजी, डायग्नोस्टिक प्रणाली तथा प्रयोगशाला सेवासम्बन्धी नवीनतम समाधानहरू प्रस्तुत गरिने समेत जनाकारी दिए।
त्यसैगरी, आयोजक पक्षका अनुसार एक्स्पो स्वास्थ्य क्षेत्रका पेशाकर्मीहरू अस्पताल सञ्चालक, चिकित्सक, नर्स तथा अनुसन्धानकर्ताहरू बीच अनुभव आदानप्रदान, नेटवर्किङ तथा सहकार्य विस्तारका लागि महत्वपूर्ण प्लेटफर्म बन्नेछ।
प्रदर्शनीमा Siemens, Philips, Fujifilm, Thermo Fisher Scientific लगायत विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता रहनेछ।
नेपालमा औषधि बाहेक केमिकल, मेडिकल उपकरण तथा प्रयोगशाला सामग्रीहरूको वार्षिक कारोबार २० अर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ। यस्तो अवस्थामा यस प्रकारको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीले स्वास्थ्य क्षेत्रको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा व्यवसायिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।