काठमाडौँ। सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ।
स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाका अनुसार, नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोजी गरी खोप लगाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत १५ महिनामा लगाउनुपर्ने नियमित खोप छुटेका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप प्रदान गरिनेछ।
सरकारले गत मङ्सिर र पुसमा छुटेका बालबालिकाको तथ्याङ्क संकलन गरेको थियो। हाल करिब ९० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छन् भने १० प्रतिशतले आंशिक खोप मात्र लगाएका छन्। करिब १ प्रतिशत बालबालिकाले भने कुनै पनि खोप नलगाएको तथ्याङ्कले देखाएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार केही जिल्लामा खोप छुटेका बालबालिकाको संख्या बढेसँगै दादुरा–रुबेला संक्रमणको जोखिम देखिएकाले अभियान आवश्यक बनेको हो। विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार खोप कार्यक्रम प्रभावकारी बनेपछि नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् १९९६ को ११८ प्रति हजारबाट घटेर सन् २०२३ मा २६.५ प्रति हजारमा झरेको छ।