कास्की । गण्डकी प्रदेश सरकार ले सञ्चालन गर्दै आएको गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म ७१ जना लाभान्वित भएका छन्। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र २८ दिनसम्मका नवजात शिशुलाई लक्षित गरी विसं २०७६ देखि यो सेवा सुरु गरिएको हो।
प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा जटिल अवस्था भएका बिरामीलाई हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पतालमा पठाइन्छ। जिल्लागत विवरण हेर्दा बागलुङबाट सबैभन्दा बढी ३० जना, म्याग्दीबाट १८, गोरखाबाट ६, मुस्ताङबाट ५, लमजुङबाट ४ तथा पर्वत र मनाङबाट २–२ जनाले सेवा लिएका छन्।
पछिल्लो समय स्थानीय तहसम्म विशेषज्ञ सेवा विस्तार र अस्पतालको स्तरोन्नतिका कारण हवाई उद्धारको आवश्यकता घट्दै गएको अधिकारीहरू बताउँछन्। संघीय सरकारको कार्यक्रमसँगै प्रदेशको यो पहल दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षक सावित हुँदै आएको छ।