काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत इन्धन दुरुपयोग भएको प्रकरणमा छानबिन प्रक्रिया अघि बढाइएको छ। मन्त्रालय स्रोतका अनुसार प्रयोगमा नै नरहेका तथा क्षतिग्रस्त सवारी साधनको नाममा समेत इन्धन खर्च देखाइएको भेटिएपछि विषय बाहिर आएको हो।
स्वास्थ्य मन्त्री निशा मेहताले घटनालाई गम्भीर रूपमा लिँदै तत्काल छानबिनगरी जिम्मेवार कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएकी छन्। सोहीअनुसार प्रशासनतर्फका अधिकारीलाई तथ्य संकलन र प्रतिवेदन तयार गर्न जिम्मेवारी दिइएको छ।
प्रारम्भिक जानकारीअनुसार आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति भएका केही सवारी साधनको विवरण प्रयोग गरी इन्धन सुविधा लिइएको देखिएको छ। साथै, सवारी सुविधा नपाउने कर्मचारीले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरेको आशंका गरिएको छ।
मन्त्रालयले दुरुपयोग भएका सवारी साधनलाई नियन्त्रणमा लिई कडाइका साथ अनुगमन सुरु गरेको जनाएको छ। छानबिनबाट दोषी ठहरिएकामाथि प्रशासनिक कारबाही हुने बताइएको छ।