काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि खुला आवेदन आह्वान गरेको छ।
मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो। यसपटक सरकारले प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउँदै पदपूर्तिको काम अघि बढाएको छ।
अस्पताल ऐन २०५३ अनुसार अध्यक्ष बन्न चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ। साथै क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको वरिष्ठ चिकित्सक हुनुपर्ने मापदण्ड तोकिएको छ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा सोझै नियुक्ति गर्ने परम्परा रहे पनि यसपटक खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागिएको मन्त्रालयले जनाएको छ। उक्त पदको कार्यकाल तीन वर्षको हुनेछ। यसअघि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका विजयराज न्यौपानेको कार्यकाल समाप्त भएसँगै पद रिक्त रहेको थियो।
