काठमाडौँ। नेपाल चिकित्सक संघ (नेपाल चिकित्सक संघ)को जारी निर्वाचन मतगणनाले प्रतिस्पर्धालाई झनै रोचक बनाएको छ। सोमबार बिहान १० बजेसम्म ३,७१८ मत गणना सकिँदा शीर्ष पदहरूमा झिनो अन्तरले परिणाम अनिश्चित देखिएको हो।
अध्यक्ष पदमा डा. मंगल रावल १,६७० मतसहित अग्रस्थानमा छन् भने डा. बद्री रिजाल १,५६८ मतका साथ करिब १०० मतको अन्तरमा पछ्याइरहेका छन्। डा. नारायणप्रसाद भुसाल ४३८ मतसहित तेस्रो स्थानमा छन्।
वरिष्ठ उपाध्यक्षतर्फ डा. सञ्जीव तिवारी१,४०७ मतका साथ अगाडि रहँदा डा. कीर्तिपाल सुवेदी १,२९३ मतका साथ नजिकै छन्। महासचिवमा डा. कालुसिंह खत्री १,३९५ मतसहित अग्रता कायम गर्दा डा. विश्वराज दवाडी १,२८२ मतसहित प्रतिस्पर्धामा छन्।
प्रदेशतर्फ पनि उस्तै कडा भिडन्त देखिएको छ। कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी अग्रस्थानमा छन्।
अन्य पदहरूमा पनि प्रतिस्पर्धा तीव्र छ। कोषाध्यक्षमा डा. संयुक्ता आचार्य, सह–सचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल ले अग्रता कायम गरेका छन्।
हाल काभ्रेको मतगणना जारी रहेको छ भने उपत्यका बाहिर विराटनगरको मत गणना बाँकी छ। प्रारम्भिक नतिजाले देखाएको झिनो अन्तरका कारण अन्तिम परिणामसम्म कडा प्रतिस्पर्धा कायम रहने देखिएको छ।