काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधारअन्तर्गत १०० बुँदे कार्ययोजना लागू गर्न गति दिएको छ। गुणस्तरीय सेवा सुनिश्चित गर्न मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा अनुगमन तीव्र बनाएको हो।
यसै क्रममा डा. रोशन न्यौपानेको नेतृत्वमा महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण गरी सुधारका लागि निर्देशन दिइएको छ। ओपिडी, इमर्जेन्सी, फार्मेसी र रेडियोलोजीमा प्रतीक्षा समय घटाउन, बिरामीसँग सम्मानजनक व्यवहार गर्न र आकस्मिक सेवामा पर्याप्त जनशक्ति खटाउन भनिएको छ।
साथै सरसफाइ, सुरक्षा, कर्मचारी उपस्थितिको कडाइ र उपकरण मर्मतमा ध्यान दिन निर्देशन दिइएको छ। ओपिडी समयमा ‘एमआर’ प्रवेशमा रोक लगाउन पनि मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि भेरी, नारायणी, बिपी कोइराला र गजेन्द्रनारायण सिंह अस्पतालमा पनि यस्तै अनुगमन भइसकेको छ।