काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन अन्तर्गत तीन दिनदेखि जारी मतगणना सकिँदा नयाँ नेतृत्वमा डा. बद्री रिजाल निर्वाचित भएका छन्। उनले ३,१९६ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी डा. मंगल रावल ९२,९४०० लाई २५६ मतले पराजित गरेका हुन्। अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे।
यो निर्वाचनले एनएमएभित्र शक्ति सन्तुलन स्पष्ट पारेको छ, जहाँ डा. रिजाल नेतृत्वको प्यानलले अध्यक्षसहित अधिकांश केन्द्रीय पदमा वर्चस्व जमाएको छ। १९ सदस्यीय कार्यसमितिमा दुई उपाध्यक्ष र केही सदस्यबाहेक प्रमुख पदहरूमा सोही समूह विजयी भएको छ।
वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी (३,०३६), महासचिवमा डा. विश्वराज दवाडी (२,७२२) र कोषाध्यक्षमा डा. संयुक्त आचार्य (३,१८६) निर्वाचित भएका छन्। सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल विजयी भए। प्रदेश संयोजकतर्फ भने मिश्रित परिणाम देखिएको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिममा डा. रिजाल समूहका उम्मेदवार विजयी हुँदा गण्डकी र कर्णालीमा डा. रावल समूहले जित निकालेको छ।
यस निर्वाचनले चिकित्सकहरूको पेशागत राजनीतिमा नयाँ समीकरण मात्रै होइन, आगामी तीन वर्षका लागि नीति, नेतृत्व र संगठनात्मक दिशा पनि तय गर्ने संकेत दिएको छ।

