भरतपुर । चितवन मेडिकल कलेज (सिएमसी)ले काठमाडौँ र हेटौँडामा अतिविशिष्टिकृत सेवा सहितका नयाँ अस्पताल सञ्चालन गर्ने भएको छ ।
काठमाडौँको तीनकुनेमा निर्माणाधीन ३०० शैय्याको अस्पताल आगामी दशैँको घटस्थापनादेखि सञ्चालनमा ल्याइने तयारी गरिएको छ । अस्पतालमा क्यान्सर उपचारसहित सबैखाले विशेषज्ञ सेवा उपलब्ध गराइने जनाइएको छ ।
कलेजका अध्यक्ष प्रा.डा. हरिश्चन्द्र न्यौपानेका अनुसार १२ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अस्पतालको व्यवस्थापन प्रारम्भिक चरणमा भारतकोमेदान्त अस्पतालले गर्नेछ ।
यस्तै, हेटौँडामा १०० शैय्याको अतिविशिष्टिकृत अस्पताल निर्माण सुरु गरिएको छ । करिब २ अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको उक्त अस्पताल २०८४ सालको दशैँदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको छ । अस्पताल सञ्चालनमा आएपछि मकवानपुरसहित आसपासका जिल्लाका बिरामीलाई विशेषज्ञ सेवा सहज हुने अपेक्षा गरिएको छ ।