काठमाडौं । नेपालमा ग्यास्ट्राइटिस तथा पेटमा हुने अत्यधिक एसिडिटी (Acid Related Disorders) को उपचारका लागि नयाँ पुस्ताको औषधि ‘भीप्राज’ (VPRAZ–Vonoprazan) सार्वजनिक गरिएको छ। एशिएन फर्मास्युटिकल्सले उक्त औषधि नेपाली बजारमा ल्याएको हो।
यसअघि ‘प्यान्टप’ जस्ता ग्यास्ट्रिक सम्बन्धी लोकप्रिय औषधि उत्पादन गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक ‘भोनोप्राजान’ समूहअन्तर्गतको औषधि बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यो औषधि “पोटासियम कम्पेटिटिभ एसिड ब्लकर” (P-CAB) वर्गको नयाँ मोलिक्युल हो, जसले पेटमा एसिड उत्पादनलाई छिटो र प्रभावकारी रूपमा नियन्त्रण गर्ने काम गर्छ।
कम्पनीका कार्यकारी निर्देशक शंकर घिमिरे का अनुसार नेपाली चिकित्सकहरूले लामो समयदेखि भोनोप्राजान समूहको औषधिको आवश्यकता औंल्याउँदै आएका थिए। सोही आवश्यकतालाई ध्यानमा राख्दै करिब चार वर्षको अध्ययन, अनुसन्धान तथा सरकारी प्रक्रिया पूरा गरी औषधि बजारमा ल्याइएको उनले बताए।
उनले भने, “हामीले नेपाली बिरामीलाई विश्वस्तरीय र आधुनिक उपचार पद्धतिसँग जोड्ने प्रयास गरिरहेका छौं। ‘भीप्राज’ को आगमनसँगै नेपालमा ग्यास्ट्राइटिस तथा एसिड सम्बन्धी समस्याको उपचारमा नयाँ विकल्प थपिएको छ।”
भोनोप्राजान पहिलो पटक सन् २०१५ मा जापानमा प्रयोगमा आएको थियो भने अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय यूएसएफडीएले यसलाई पछि स्वीकृति दिएको थियो। पछिल्ला वर्षहरूमा भारतसहित विभिन्न देशमा पनि यो औषधि बजार विस्तार भइरहेको छ।
विशेषज्ञहरूका अनुसार परम्परागत ‘प्रोटोन पम्प इन्हिबिटर’ (PPI) औषधिको तुलनामा P-CAB वर्गको औषधिले छिटो असर देखाउने, रातिको एसिडिटी नियन्त्रणमा प्रभावकारी हुने तथा खाना खानुअघि वा पछि जुनसुकै समयमा सेवन गर्न सकिने विशेषता राख्छ।
कम्पनीले ‘भीप्राज–१०’ र ‘भीप्राज–२०’ गरी दुई मात्रामा औषधि उपलब्ध गराएको जनाएको छ। विशेषगरी अन्य औषधिबाट पर्याप्त लाभ नपाएका बिरामीमा यसले प्रभावकारी नतिजा दिने दाबी गरिएको छ।
यससँगै एशियन फर्मास्युटिकल्सले पहिलो पटक औषधिको बट्टामा ब्रेल लिपिमा नाम प्रिन्ट गर्ने व्यवस्था पनि सुरु गरेको छ। यसले दृष्टिविहीन बिरामीलाई औषधि पहिचान गर्न सहज हुने कम्पनीको विश्वास छ।