जनकपुर। स्वास्थ्य क्षेत्रमा ३५ वर्षपछि खुलाइएको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी, सिएमएलगायत प्राविधिक पदलाई शून्य राखिएको भन्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।
शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्यमन्त्री निशा मेहता विरुद्ध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन्। प्रदर्शनकारीहरूले जनकपुरधामका विभिन्न चोकमा र्याली निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा “स्वास्थ्यमन्त्री मुर्दावाद”, “निशा मेहता राजीनामा दे”, “हेपाइ होइन अधिकार चाहिन्छ”, “स्वास्थ्य क्षेत्रको विभेद बन्द गर”, “स्वास्थ्यकर्मीको अपमान बन्द गर” लगायतका नारा लगाइएको थियो। स्वास्थ्यकर्मीहरूको आरोप अनुसार सरकारले हालै स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा नयाँ दरबन्दी थप्ने निर्णय गरे पनि नर्सिङ र चिकित्सकबाहेक अन्य प्राविधिक जनशक्तिलाई पूर्ण रूपमा बेवास्ता गरेको छ। हेल्थ असिस्टेन्ट, ल्याब, रेडियो, सिएमएलगायत पदमा एउटा पनि दरबन्दी नखुलाइनुले आफूहरूमाथि विभेद भएको उनीहरूको भनाइ छ।
स्वास्थ्यकर्मी नवेश अधिकारीले देशभर हरेक वर्ष ५ हजार ३०० भन्दा बढी स्वास्थ्यकर्मी उत्पादन हुने गरे पनि उनीहरूका लागि दरबन्दी नखुलाइनु विडम्बनापूर्ण भएको बताए। “यदि दरबन्दी नै नखोल्ने हो भने सम्बन्धित विषयको पढाइ नै बन्द गर्नु उपयुक्त हुन्छ,” उनले भने।
उनले सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिको वास्तविक मूल्यांकन नगरी निर्णय गरेको आरोप लगाए। साथै, स्वास्थ्यमन्त्री मेहताले मेडिकल माफियाको प्रभावमा काम गरेको दाबी गर्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
प्रदर्शनकारी स्वास्थ्यकर्मीहरूले सरकारले दुई दिनभित्र निर्णय सच्याएर सम्बन्धित प्राविधिक पदमा दरबन्दी नखोले वैशाख २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने चेतावनी दिएका छन्। स्वास्थ्यकर्मीहरूले दरबन्दी थप गर्दा सबै स्वास्थ्य विधा र प्राविधिक जनशक्तिलाई समान अवसर दिनुपर्ने मागसमेत गरेका छन्।