काठमाडौँ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउन सरकारले आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ अभियान सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज बिहान ८ः३० बजे वीर अस्पतालबाट अभियानको औपचारिक शुभारम्भ गरेकी हुन् । वैशाख २८ देखि जेठ १ गतेसम्म सञ्चालन हुने अभियानमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय सहभागी हुनेछन् ।
सरकारले जारी गरेको मार्गदर्शनअनुसार सरकारी कार्यालयमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सफाइ र सेवाग्राहीमैत्री वातावरणलाई प्राथमिकता दिइनेछ । शौचालयलाई दुर्गन्धरहित बनाउँदै नियमित पानीको व्यवस्था, हात धुने स्थानमा साबुन र दैनिक सफाइ अभिलेख अनिवार्य गरिएको छ ।
यस्तै, शौचालय महिलामैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त तथा सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने तथा खुला रूपमा फोहोर जलाउन नपाइने जनाइएको छ ।
अभियानलाई प्रभावकारी बनाउन प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोकिने र नियमित अनुगमन गरिने सरकारले जनाएको छ ।