काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हान्टाभाइरस सम्बन्धी भ्रम र अफवाहमा नपर्न आग्रह गर्दै नेपालमा हालसम्म हान्टाभाइरस संक्रमण पुष्टि नभएको जनाएको छ।
मन्त्रालयका अनुसार चर्चामा रहेको हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट संक्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकाले यसको तत्काल जोखिम अत्यन्त न्यून छ। मन्त्रालयले संक्रमित मुसाको पिसाब, दिसा वा दूषित वातावरणबाट संक्रमण सर्न सक्ने भएकाले घरवरपर सफा राख्न, मुसा प्रवेश गर्ने स्थान बन्द गर्न र सरसफाइ गर्दा मास्क तथा पञ्जा प्रयोग गर्न आग्रह गरेको छ।
ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न तथा आधिकारिक सूचनामात्र विश्वास गर्न मन्त्रालयले अनुरोध गरेको छ।