काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरिएको हो। समितिले ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३’ अनुसार आवेदन प्रक्रिया अघि बढाइने जनाएको छ।
आवेदनका आधारमा समितिले उपयुक्त नाम छनोट गरी नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ। आयोगको नेतृत्व चयनलाई चिकित्सा शिक्षा क्षेत्रको नीतिगत सुधार, शैक्षिक गुणस्तर सुदृढीकरण तथा नियमन प्रणाली प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आवेदनसम्बन्धी विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग को वेबसाइटमा उपलब्ध रहेको छ।
